Cholera FAQ image

रसुवा र नुवाकोट जिल्लामा बाढी प्रभावित क्षेत्रमा हैजा रोग विरुद्धको खोप अभियानबारे जानकारी

haija one pager semi final

१. हैजा विरुद्धको खोप कस्तो प्रकारको खोप हो ?

हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइने खोप हो । यो खोप सुरक्षित र प्रभावकारी छ । यो खोप तयारी फोलको रूपमा प्लाष्टिकको ट्युबमा उपलब्ध हुन्छ । यस खोप अभियानका लागि नेपालमा उपलब्ध गराइएको खोप Euvichol-S (इयुभिकोल-एस) हो । यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको खोप हो र नेपालका नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ ।

२. यो खोप खान किन जरुरी छ ?

हैजा रोगबाट सुरक्षित हुन यो खोप खान जरुरी हुन्छ । बाढीको कारण खानेपानीका मुहान तथा वितरण प्रणाली क्षति पुग्नुका साथै दूषित पानी तथा खानेकुराबाट जान सक्ने पानीजन्य रोग फैलिने जोखिम बढेकाले यो खोप खान जरुरी छ ।

३. यो खोप कति मात्रा खुवाइन्छ ?

यस अभियानमा एकपटक दिइनेछ ।

४. अभियान कहिले सञ्चालन हुँदैछ ?

यो खोप अभियान २०८३ साल भाद्र २५ गतेदेखि सञ्चालन हुँदैछ ।

५. अभियान कहाँ सञ्चालन हुँदैछ ?

रसुवा र नुवाकोट जिल्लाको बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुँदैछ ।

६. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?

यो खोप एक वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरूले खानु पर्दछ ।

  • गर्भवती महिला र स्तनपान गराइ रहने महिलालाई पनि यो खोप दिनु हुन्छ ।
  • कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, एच.आई.भी. संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि यो खोप दिनु पर्दछ ।

७. यो खोप कसले खानु हुँदैन ?

  • एकवर्ष नपुगेका कम उमेरका बालबालिकाले खानु हुँदैन ।
  • ज्वरो आईरहेको, झाडापखाला भएको वा अन्य कुनै सिरियस बिरामी भएको अवस्थामा यो खोप दिनु हुँदैन (तर निको भएपछि दिनु पर्छ) ।
  • विगतमा यो खोप खुवाउँदा वा यो खोपमा भएका कुनै तत्वका कारणले सिरियस (प्रतिक्रिया) भएको भए, स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श पछि मात्र यो खोप लिन सकिन्छ ।

८. यो खोप लिएपछि के-के असरहरू देखिन सक्छन् ?

अत्यन्तै न्यून संख्यामा देखिन सक्ने सामान्य असरहरू (यी प्रायः आफैँ ठीक हुन्छन्) :

  • पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने ।
  • ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने, थकान लाग्ने ।
  • खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने, जिउ चिलाउने ।

९. अन्य खोपसँग खान हुन्छ कि हुँदैन ?

हुन्छ । नियमित खोप तथा अन्य खोपसँगै हैजा विरुद्धको खोप खान हुन्छ ।

१०. खोप केन्द्र कहाँ कहाँ सञ्चालन गरिन्छ ?

  • नियमित खोप सेवा स्थान तथा नियमित खोप केन्द्रहरू
  • होल्डिङ सेन्टर तथा अस्थायी आवास केन्द्र
  • भौगोलिक रूपमा विकट तथा विस्थापित जनसंख्यालाई पायक पर्ने स्थान
  • स्वयंसेवकको सहयोगमा घर-घरमा पुगेर
  • स्थानीय स्वास्थ्य संस्था: अभियानको अन्तिम दिनसम्म

११. खोप लिन छुट भएमा के गर्ने ?

नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग समन्वय गरेर यो खोप लिनु पर्दछ ।

महत्वपूर्ण सन्देश

हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजाको रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शौचालयमा मात्र दिसा पिसाब गर्ने, साबुन पानीले राम्ररी हात धुने जस्ता बानी व्यवहार अनिवार्य रूपमा अपनाउनु पर्दछ ।

खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य सेवा विभाग
परिवार कल्याण महाशाखा

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (1 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Anonymous

Very informative

सेप्तेम्बर 14, 2026, 3:06 p.m.
⭐ 0/5

Notifications